इसराइलको हवाई हमलामा हिजबुल्लाहका अर्का कमाण्डर पनि मारिए

काठमाण्डु टुडे २०८१ असोज ६ गते ९:१६ मा प्रकाशित

एजेन्सी–इसराइलको हवाई हमलामा हिजबुल्लाहका अर्का कमाण्डर पनि मारिएका छन् ।

रोयटर्सका अनुसार भूमिगत रूपमा हिजबुल्लाह लडाकूहरू रहेको सूचनाका आधरमा इसराइलले गरेको पछिल्लो हमलामा कमाण्डर अहमद वाहबी मारिएका हुन् ।
लेबननको राजधानी बेरूतस्थित दक्षिणी क्षेत्रको ठूला भवनहरू रहेको क्षेत्रमा इसराइलले शुक्रबार मिसाइल हमला गरेको थियो ।

मिसाइल आक्रमणका कारण भत्किएका घरहरुको खण्डहरमा पुरिएर उनी मारिएको समाचारमा उल्लेख छ । भग्नावशेषबाट थप ६ जनाको शव निकालिएको थियो । यसअघि शनिबार ३१ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो । थप ६ जनाको शव भेटिएपछि उक्त संख्या ३७ पुगेको छ ।

हिजबुल्लाहका अर्का कमाण्डर इब्राहिम अकिल आक्रमाण्मा मारिएको शनिबार नै सार्वजनिक भएको थियो । रोयटर्सका अनुसार अकिल र वाहबी हिजबुल्लाहको ‘एलिट रेडवन फोर्स’ का उच्च कमाण्डमध्येका हुन् । हमलामा मारिने ३७ मध्ये १६ हिजबुल्लाह लडाकु रहेको तीन बालबालिका र सात महिला थिए । आक्रमणमा ठूलो संख्यामा सर्वसाधारण घाइते भएका छन् ।

लेबनान र सिरियाका केही ठाउँमा इसराइलले हिजबुल्लाह लडाकुले बोकेका हजारौं पेजर एकैसाथ विस्फोट गराएको थियो । त्यस घटनामा कम्तिमा १२ जनाको मृत्यु भएको थियो । त्यस क्रममा करिब तीन हजारजना घाइते भएका थिए । यस्तै बिहीबार हिजबुल्लाह लडाकुले प्रयोग गरेका वाकीटकी विस्फोट हुँदा कम्तीमा २० को मृत्यु भयो । त्यस घटनमा ४ सयभन्दा बढी घाइते भएका थिए ।

मंगलबारको आक्रमणमा मारिएकाको सामूहिक दाहसंस्कार भइरहेको स्थानमा समेत बुधबार वाकीटकी विस्फोट गराइएको थियो । हिजबुल्लाहले पेजर र वाकीटकी विस्फोटमा इसराइलको हात रहेको आराप लगाए पनि इसराइल तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us