भारतको दिल्लीमा कम्युनिष्ट मुख्यमन्त्री !

काठमाण्डु टुडे २०८१ असोज १ गते १९:५६ मा प्रकाशित

एजेन्सी– भारतको दिल्लीले तेश्रोपटक महिला मुख्यमन्त्री पाएको छ ।

आमआदमी पार्टी (आप) ले अतिशी मार्लेना सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । केही दिनअघि मात्र जमानतमा रिहा भएका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पार्टी बैठकमा अशितीको नाम मुख्यमन्त्रीमा प्रस्ताव गरेका थिए ।

अतिशी हाल केजरीवाल नेतृत्वको सरकारमा अर्थमन्त्री छिन् । दिल्लीले महिला मुख्यमन्त्री पाउन लागेको यो तेश्रो पटक हो । यसअघि सुष्मा स्वराज र शिला दीक्षित मुख्यमन्त्री भएका थिए । उनीहरु दुवैको हाल निधन भइसकेको छ ।

४३ वर्षीय अतिशीले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेकी छन् । अतिशीको जन्म राजनीतिक पारिवारमै भएको थियो । उनका बुबा विजय सिंह र आमा त्रिप्तावाही दुवै कम्युनिष्ट थिए । पेशाले उनीहरु दुवै दिल्ली विश्वविद्यालयमा प्राध्यापन गर्थे ।

सोही कारण अभिभावकले उनको नाममा मार्लेना थपिदिएका थिए । कम्युनिष्ट संस्थापकहरु कार्ल मार्क्स र लेनिनको नामलाई छोटकरीमा ‘मार्लेना’ भनिएको हो ।

यद्यपि उनको नाम माक्र्स र लेनिनसँग जोडेर राखिएको विषयमा सार्वजनिक बहसमा विवादका रुपमा उठेपछि केही समयदेखि नाम र थरको बीचमा मार्लेना लेख्न छाडेकी छन् ।

अन्ना हजारेको भ्रष्टाचारविरोधी अभियानबाट चर्चामा आएकी अतिशी सन् ०१३ मा केजरीवाल नेतृत्वमा आम आदमी पार्टी स्थापना हुँदा त्यसको संस्थापक थिइन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us