
नयाँदिल्ली– दिल्लीका मुख्यमन्त्री एवं आमआदमी पार्टीका अध्यक्ष अरबिन्द केजरीवाल जेलमुक्त भएका छन् ।
भारतको सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि केजरीवाल जेलमुक्त भएका हुन् । शुक्रबार सर्वोच्च अदालतले केजरिवाललाई १० लाख जमानतमा छाड्न आदेश दिएको थियो ।
उनलाई तिहाड जेलमा राखिएको छ । जेलबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले जेल बसेर बाहिर आउँदा आफ्नो शक्ति थप सय गुणा बढेको प्रतिक्रिया दिए । केजरिवाल मदिरा नीतिसँग सम्बन्धित सीबीआईको एफआईआर मुद्दामा पक्राउ परेका थिए ।
न्यायाधीश सूर्यकान्त र उज्जल भुइयाँको इजलासले केजरीवाललाई जमानतमा रिहा गर्न आदेश दिएको हो । उनलाई कुनै पनि सार्वजनिक टिप्पणी नगर्ने तथा मुद्दाको अन्तिम फैसला नहुँदासम्म अदालतमा सबै सुनुवाइका लागि उपस्थित हुनुपर्ने सर्त राखिएको छ ।
केजरीवाललाई सिआईबीले प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतबाट गत मार्चमा पक्राउ गरेको थियो । त्यसअघि सन् २०२४ जुलाई १२ मा केजरीवाललाई ईडीको मामलामा सर्वोच्च अदालतले जमानतमा छाडेको थियो । तर यो जमानत पाउनुअघि सीबीआईले केजरीवाललाई पक्राउ गरियो ।
यसअघि लोकसभा निर्वाचन प्रचारका लागि सर्वोच्च अदालतले अरविन्द केजरीवाललाई मे १० देखि जुन २ सम्म अन्तरिम जमानतमा छाडेको थियो । अदालतका पूर्वसर्तअनुसार निर्वाचन सकिएपछि केजरीवाल आफैं जेलमा हाजिर भए ।
आमआदमी पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपाको डिजाइनमा नियतबस झुठा आरोप लगाएर केजरिवाललाई फसाउने ष्ड्यन्त्र गरिएको आरोप लगाउँदै आएको छ ।
भाजपा नेताहरुले जमानतमा रिहा भए पनि अन्तिम फैसला नभएकाले केजरीवालले दिल्लीको मुख्यमन्त्रीका हैसियमा कामकाज गर्न नसक्ने प्रतिक्रिया दिएका छन् ।