
एजेन्सी– पाकिस्तानको समुद्रमा भारी मात्रामा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको भन्डार फेला परेको छ । यसको उत्खनन गर्न सकिएमा पाकिस्तानको भविष्य नै फेरिने पाकिस्तान सञ्चार माध्यमहरूले जनाएका छन ।
समुद्री क्षेत्रको तेल र ग्यास भन्डार पुष्टि गर्न पाकिस्तानले एक मित्र देशसँगको सहकार्यमा तीन वर्षीय सर्वेक्षण गरेको डन न्यूजी टिभीले शुक्रबार वरिष्ठ सुरक्षा अधिकारीलाई उद्धृत गर्दै बताएको छ ।
यसबारे सम्बन्धित विभागले सरकालाई सूचित गरिसकेको बताइएको छ । यतिबेला भन्डारबाट तेल र ग्यास निकाल्ने परियोजनाको बोलपत्र आह्वान र उत्खननबारे अध्ययन भइरहेको पाकिस्तानका सञ्चारमाध्यम हरुले जनाएका छन ।
उत्खननको काम निकट भविष्यमै सुरु गर्न सकिने बताइएको छ । तर तेल निकाल्न भने कयौँ वर्ष लाग्न सक्ने ती अधिकारीले बताएका छन् । केहीले पाकिस्तानमा भेटिएको तेल तथा ग्यास भन्डार विश्वको चौथो ठुलो भएको अनुमान गरेका छन् ।
अहिले भेनेजुएलासँग विश्वको सबैभन्दा ठुलो तेल भन्डार रहेको छ । उसँग करिब ३ अर्ब ४० करोड ब्यारेलको भन्डार भएको अनुमान गरिएको छ । साउदी अरब, इरान, क्यानडा र इराक पनि विश्वका शीर्ष पाँच तेल तथा ग्यास भन्डार भएका देश सुचिमा छन ।