रेस्टुरेन्टमा बिल नतिर्ने नयाँ काइदा: खानामा आफै साङ्लो हाल्ने

काठमाण्डु टुडे २०८१ भदौ २० गते १५:५९ मा प्रकाशित

एजेन्सी– आज भोली मानिसहरुले दुनियाँलाई यसरी ठगी रहेका छन की ? उनीहरु ठगी गर्न पनि नयाँ–नयाँ उपायहरू निकाली रहन्छन् । मेक्सिकोमा एक परिवारले रेस्टुरेन्टमा खाएको बिल नतिर्न नयाँ जुक्ति निकालेका हुन्– खानामा आफै साङ्ला हाल्ने । उनीहरुको हर्कत क्यामेरामा कैद भएपछि ठगीको यो नयाँ काइदा सार्वजनिक भएको हों ।

मेक्सिकोको गुआडालाजारामा रहेको द पुएर्टो चेल रेस्टुरेन्टले हालै सामाजिक सञ्जालमा उक्त भिडियो सेयर गरेका हुन् । ती परिवारले आफूले मगाएको खानामा साङ्ला भेटिएको दाबी गर्दै रेस्टुरेन्टको बिल नतिर्ने भन्दै विवाद गरेका थिए । यसबारे थप विवाद खडा नहोस् भनेर रेस्टुरेन्टले उनीहरूको माग स्वीकार पनि गरेको थियो ।

तर, सरसफाइ र खाद्य सुरक्षामा कडाइ गरिने रेस्टुरेन्टमा कसरी यस्तो घटना भयो भनेर त्यहाँको व्यवस्थापनले यसको अनुसन्धान गर्ने निर्णय गर्यो । परिवार रेस्टुरेन्टबाट हिँडेपछि सीसीटिभी फुटेज अध्ययन गर्दा परिवारले नियोजित रूपमा यो घटना घटाएको खुलेको हो । भिडियोमा चार जनाको परिवारले रेस्टुरेन्टमा मजा लिँदै खाना खाइरहेको देख्न सकिन्छ ।

यसैबिच परिवारकी एक महिला सदस्यले एउटा सानो भाँडो निकाल्छिन् । त्यसपछि भाँडोमा रहेको वस्तुलाई खानामा मिसाउँछिन् । भाँडामा रहेको साङ्लो निस्कन नमानेपछि ती महिलाले चम्चाको प्रयोग गरेर भाँडाबाट त्यसलाई निकालेर खानामा मिलाएको पनि भिडियोमा देखिएको छ । खानामा साङ्लो राखेपछि ती महिलाले रेस्टुरेन्टका वेटरलाई बोलाएर गुनासो गर्न थाल्छिन् ।

रेस्टुरेन्टले गुनासोको सम्बोधन गर्दै उनीहरुलाई अर्डर गरेको अन्य खाना निःशुल्क प्याक गरेर पठाउँछन् । आफ्नो ग्राहकको खानामा कसरी साङ्लो पर्‍यो भनेर अनुसन्धान गर्दा उनीहरूको ठगीको काइदा पत्ता लागेको रेस्टुरेन्टले जनाएको छ । त्यसपछि अरू पनि यसरी नै नठगिउन् भनेर आफूहरूले सामाजिक सञ्जालमा उक्त भिडियो अपलोड गरेको रेस्टुरेन्टको व्यवस्थापनले जानकारी दिउको छ ।

ट्वीटरमा सेयर गरिएको भिडियो निकै भाइरल भएको छ । त्यसपछि यो परिवारले अन्य रेस्टुरेन्टलाई पनि यसरी नै ठगेको खुलेको छ । अहिले साङ्लो हाल्ने महिलालाई ‘लेडी कुकाराचा (ककरोच) भन्दै अनलाइन फोटो र भिडियो सेयर गरिँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us