जिबी राईसँग संगत गर्नु गलत रहेछ भन्ने लागेको छः रवि लामिछाने

काठमाण्डु टुडे २०८१ भदौ ८ गते ११:५८ मा प्रकाशित

चितवन, ८ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बिजी राई गलत मानिस हुन् भन्ने समयमै चिन्न नसक्नु आफ्नो कमजोरी रहेको बताएका छन् ।

लामिछाने र राई गोरखा मिडियो नेटवर्क र त्यसले सञ्चालन गरेको ग्यालेक्सी टेलिभिजनका व्यवसायिक साझेदार हुन् । भरतपुर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग लामिछानेले राईलाई समयमै चिन्न नसक्दा संगत गर्न पुगेको टिप्पणी गरे ।

लामिछानेमाथि बिजी राई समूहले सञ्चालन गरेको पोखराको सूर्यदर्शनसहित चार सहकारीको करोडौं रकम अपचालन गरी गोर्खा मिडियामा लगानी गरेको आरोप लागेको छ । प्रतिनिधिसभाद्वारा गठित सहकारी हिनाहिनासम्बन्धी संसदीय समितिले आइतबार राति साढे १ बजेसम्म लामिछानेसँग बयान लिएको थियो ।

बयानमा उनले आफूले ग्यालेक्सीका समाचारबाहेक लगानीको जिम्मा लिन नसक्ने बताए । लामिछानेले बिजी राईको सम्पत्तिको श्रोत खोज्ने काम आफ्नो नभई राज्यको भएको टिप्पणी गरे । ‘मैले त्यहाँ हेरेर, जानेर, बुझेरै काम गरेको थिएँ । छोडेर गएको डेढ वर्षपछि विभिन्न अनुसन्धानले जानकारी आएपछि थाहा भएको कुरा हो । त्यतिखेर थाहा भएको कुरा होइन। त्यतिखेरै आएको भए त्यतिखेरै थाहा हुन्थ्यो । कतिपय कुरा जतिखेर उजागर हुन्छ त्यतिखेरै हेरिन्छ,’ लामिछानेले भने, ‘उजागर नहुँदा त्यसबारेमा थाहा नहुनु स्वभाविक हो । तर समान्यरुपमा त कसैलाई थाहा थिएन ।’

अहिले आएर भने राईसँग संगत गरेकोमा गलत क्रियाकलाप भएको रहेछ भन्ने लागेको र त्यसमा ध्यान दिन नसकिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us