बयानमा रवि लामिछानेले भने– गोरखा मिडिया नेटवर्कले लिएको ऋणको जिम्मा लिन्नँ

काठमाण्डु टुडे २०८१ भदौ ७ गते १७:४१ मा प्रकाशित

काठमाण्डु, ७ भदौ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा सहकारीबाट आएको ऋणको जिम्मा लिन आफू बाध्य नहुने बताएका छन ।

आज शुक्रबार सहकारी बचत अपचलन संसदीय विशेष छानबिन समितिमा बयान दिँदै उनले यस्तो बताएका हुन । उनले आफूले गोरखा मिडिया नेटवर्कमा कुनै लगानी नगरेको भन्दै १५ प्रतिशत ‘स्वेट सेयर’ लिएको बयानको क्रममा बताएका छन ।

लामिछानेले समितिमा बयान दिँदै आफूले मिडियामा एक रुपैयाँ पनि लगानी नगरेको दाबी गरेको समितिका एक सदस्यले जानकारी दिएका छन । लामिछानेको भनाइ उद्धृत गर्दै ती सदस्यले भने, ‘मैले स्वेट सेयर १५ प्रतिशत लिएको थिएँ ।

मैले कुनै पैसा लगानी नगरेको कुरा सार्वजनिक रूपमा भनिसकेको छु ।’ बयानको क्रममा लामिछानेले आफू कुनै पनि सहकारी सदस्य नभएको भन्दै सहकारीको ऋणको विषयमा जिम्मा लिन नसक्ने बताएको ती सदस्यले जानकारी दिएका छन ।

लामिछानेको भनाई उद्धृत गर्दै ती सदस्यले भने, ‘म सहकारीको सदस्य हैन र कुनै पनि लोन सहकारीबाट लिएको छैन । म सहकारीबाट मिडियाले लिएको लोनको जिम्मा लिन सक्दिनँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us