काठमाण्डु, १४ साउन– प्रहरीले आज सोमबार आफूलाई धार्मिक अभियन्ता बताउने पुष्कर खतिवडा पक्राउ गरेको छ । प्रधानमन्त्रीसहितका नेताहरूको फोटो राखेर यमराजको अनुष्ठान गरिरहेका बेला उनीलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
काठमाण्डुस्थित आफ्नै घरमा नेताहरूको मृत्युको कामनासहित धार्मिक अनुष्ठान गरेपछि उनलाई सोमबार बिहान जिल्ला प्रहरी परिसर काठमाण्डुको टोलीले पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
खतिवडालाई घरबाटै पक्राउ गरेर हिरासतमा राखिएए जिल्ला परिसर काठमाण्डुका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरूको फोटो राखेर मृत्युको कामननासहित अनुष्ठान गरिएपछि त्यसलाई आपत्तिजनक भन्दै खतिवडालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । खतिवडाले आफू पक्राउ परेको सूचना सुरुमा सामाजिक सञ्जालमा लेख्न भ्याएका छन् ।
‘मलाई भर्खरै प्रहरी वृत्त महाराजगञ्ज लगिएको छ। कामना गरौँ देश बनोस्’, उनले भनेका छन् । खतिवडाले केही दिनअगाडि नेताहरूको मृत्युको कामना गर्दै अनुष्ठान गर्न लागेको जानकारी सामाजिक सञ्जालबाटै दिएका थिए । खतिवडाले आफूलाई धर्मगुरु र ज्योतिषका रुपमा चिनाउने गरेका छन् ।