काठमाण्डु, १४ साउन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने तयारी गर्ने बताएका छन् ।
पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एक्लै चुनाव लड्ने र जित्ने योजनाका साथ अघि बढ्ने बताए ।
‘अहिले चलिरहेको पार्टी पदाधिकारी बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका चुनाव लड्ने तयारी चलिरहेको छ’, उनले भने ।
प्रचण्डले निर्वाचन जितेर माओवादीलाई शक्तिशाली बनाउने र देशमा सुशासन कायम गर्न अघि बढ्ने उल्लेख गरे । १८ महिना सरकारको नेतृत्त्वमा रहँदा सुशासन र सामाजिक न्यायका पक्षमा आफूले काम गरेको उनको भनाइ थियो ।
प्रचण्डले आफू सरकारबाट बाहिर निस्कँदा विजयी मानसिकतामा निस्किएको बताए । भ्रष्टहरु मिले सरकार बनाएको कुरा बच्चाहरुलाई समेत थाहा भएको उनको भनाइ थियो ।
‘हामी सुशासनका पक्षमा विजयी भएर निस्किएका छौं,’ उनले भने, ‘भ्रष्टहरू मिलेर सरकार बनाएको कुरा बच्चा बच्चालाई पनि थाहा छ । यो कुरा जनतालाई पनि बुझाउन जरूरी छ ।’