रूसले उत्तर कोरियासँग गरेको सम्झौताप्रति जापानको चासो

काठमाण्डु टुडे २०८१ असार ६ गते १५:४९ मा प्रकाशित

एजेन्सी– जापानले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको सैन्य र प्राविधिक सहयोग स्वीकार गर्ने गरी भएको सम्झौतामा गम्भीर रूपमा चिन्तित व्यक्त गरेको छ । जपानका सरकारी प्रवक्ताले बिहीबार सो कुराको जानकारी दिएका छन् ।

प्योङयाङमा बुधबार उत्तर कोरियाली नेता किम जोङ–अनसँगको भेटवार्तामा राष्ट्रपति पुटिनले आक्रमणको समयमा एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धताका साथ रणनीतिक सम्झौतामा हस्ताक्षर गरेका थिए ।

बुधबार हस्ताक्षर भएको सम्झौता अनुरूप रूसले उत्तर कोरियासँग सैन्य–प्राविधिक क्षेत्रमा आवश्यकता अनुसार सहकार्य गर्ने रूसी राष्ट्रपति पुटिनले सम्झौतापछि उत्तर कोरियाली सञ्चारमाध्यमसँगको कुराकानीमा जानकारी दिएका थिए । ‘यस प्रकारको सहकार्यले हाम्रा देश र वरपरका क्षेत्रको सुरक्षा सन्दर्भमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को सङ्कल्पको प्रत्यक्ष उल्लङ्घन गर्छ, ’ जापान सरकारका प्रवक्ता योशिमासा हयासीले बताए ।

‘जापान राष्ट्रपति पुटिनले उत्तर कोरियासँग सैन्य प्राविधिक सहयोग स्वीकार गरेको तथ्यलाई लिएर गम्भीर रूपमा चिन्तित छ, उनले भने ।’ राष्ट्रपति पुटिनले उत्तर कोरियामाथि संयुक्त राष्ट्रसङ्घले लगाएको प्रतिबन्धको समीक्षा गर्नुपर्ने पनि बताएका छन ।

उनले भने, ‘अन्तर्राष्ट्रिय समुदायको इच्छा विपरित रूसले उत्तर कोरियाबाट ब्यालेस्टिक क्षेप्यास्त्रसहित हतियार र गोलाबारुद खरिद गरेको छ र संयुक्त राष्ट्र सुरक्षा परिषद्को सङ्कल्पको स्पष्ट उल्लङ्घन गर्दै युक्रेन आक्रमणमा प्रयोग गर्दै आइरहेको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us