काठमाण्डु, ६ असार– पूर्व अर्थमन्त्री एवं कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधान संशोधन गर्न आवश्यक भएको बताएका छन ।
आज (बिहीबार) काठमाण्डुमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै प्रवक्ता महतले यस्तो बताएका हुन ।
उनले पार्टी सभापति शेरबहादुर देउवाले अधिवेशनमा संविधान संशोधनको विषयमा प्रवेश गराइसक्नुभएको उल्लेख गर्दै समावेशिता, समानुपातिकता प्रत्यक्ष निर्वाचनबाटै हुनुपर्ने बताएका छन ।
उनले राष्ट्रिय सहमति जुटाइ कांग्रेसले सो बाटोमा अभियान छेड्नुपर्ने पनि बताएका छन । उनले एक तिहाइ निर्वाचन क्षेत्रमा महिला मात्रै उम्मेदवार हुने व्यवस्था राख्नुपर्ने दाबी गरेका छन ।
उनले भने, ‘पार्टी सभापतिले हाम्रो अधिवेशनमा त्यसलाई प्रवेश पनि गराइसक्नुभएको छ । अब हामीले संविधान संशोधनको विषयमा प्रवेश गर्नुपर्छ ।
समावेशिता, समानुपातिकता प्रत्यक्ष निर्वाचनबाटै हुनुपर्छ । अब त्यस बाटोमा नेपाली कांग्रेसले अभियान छेड्नुपर्छ । राष्ट्रिय सहमति जुटाउनुपर्छ ।’ प्रवक्ता महतले संविधानमा रहेको निर्वाचन पद्धतिलाई संशोधन गर्ने समय आएको बताएका छन ।