प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे गराए सदनलाई जानकारी

काठमाण्डु टुडे २०८१ असार ६ गते १३:०७ मा प्रकाशित

काठमाण्डु, ६ असार– आज बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे सदनलाई जानकारी गराएका छन् ।

सभामा सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले भारत भ्रमण बारे जानकारी गराएका हुन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा भाग लिन मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री दाहालले गत जेठ २७ र २८ गते भारतको भ्रमण गरेका थिए ।

उक्त भ्रमण कुनै पूर्वनिर्धारित कार्यसूचीका आधारमा नभई फरक ढङ्गको भएको उनले बताएका छन । भ्रमणका क्रममा प्रधानमन्त्री मोदीसहित राष्ट्रपति द्रौपदी मुर्मुर, सङ्घीय मन्त्री एस जयशंकर लगायतसँग दुई देशबिच सम्बन्ध विस्तार, सीमा समस्या संयन्त्र र लगानी बढाउने विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डले जानकारी गराएका छन ।

उनले प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको पनि बताए । जवाफमा मोदीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने वचन दिएको पनि उनले बताएका छन ।

प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम संसद्मा सांसदहरूले आकस्मिक, शून्य र विशेष समयमा सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री दाहालले दिएका हुन् । आजकै बैठकमा विनियोजन विधेयक, २०८१ माथि भएका छलफलमा क्रममा उठेका प्रश्नमाथि विभिन्न आठ मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us