
काठमाण्डु, ५ असार– काँग्रेस सांसद् धनराज गुरुङले पाँच सय र एक हजार रुपैयाँका नोट प्रतिबन्ध लगाउन माग गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै काँग्रेस उपसभापति गुरुङले आर्थिक सुशासन कायम गर्न तत्काल ५ सय र हजारका नोटमा प्रतिबन्ध लगाउन सरकारसँग माग गरे । त्यसो गर्दा मुलुकमा भ्रष्टाचार नियन्त्रणमा सघाउ पुग्ने दाबी उनको थियो ।
‘आर्थिक सुशासनका लागि पाँच सय र हजारको नोट प्रतिबन्ध लगाउन सक्नुपर्छ,’ उनले भने, ‘सरकारमा बसेका साथीहरुलाई म निवेदन गर्न चाहन्छु, आर्थिक सुशासन कायम गर्ने हो भने ५ सय र हजारको नोटमा प्रतिबन्ध लगाएर जानुपर्छ ।’
सरकारले उक्त निर्णय गरेमा ८० प्रतिशत गैरकानूनी कारोबार रोकिने दाबी गुरुङको छ । ‘त्यो गर्ने हो भने सिरानीमुनि भएका पैसा । खाटमुनि भएका पैसा । जमिनमुनि भएका पैसा र पानी मुनि भएका सबै पैसा बाहिर आउँछ’, उनले भने ।
्