गरिखान देऊ सरकार !

काठमाण्डु टुडे २०८१ असार ५ गते १७:४२ मा प्रकाशित

काठमाण्डु, ४ असार– आज (मंगलबार) पनि काठमाण्डुमा कबाड व्यवसायीहरूले प्रदर्शन जारी राखेका छन । काठमाण्डु महानगरपालिकाले रिङरोडभित्र सञ्चालित कबाड संकलन केन्द्र हटाउने निर्णय गरेर आफूहरूलाई गरिखान नदिएको कबाड व्यवसायी संघर्ष समितिको आरोप रहेको छ ।

थापाथलीबाट महानगरसम्म प्रदर्शन गरेका उनीहरूले गरिखान देऊ सरकार, छोटे राजाहरूको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागू गर, अदालतको निर्णयको सम्मान गर जस्ता प्लेकार्ड बोकेका थिए । आफूहरूको व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले रिङरोडभित्रका कबाड हटाउन महानगर लागिपरेको व्यवसायीहरूले बताएका छन ।

कबाड संकलन केन्द्रका कारण धेरै असुरक्षा बढेको गुनासो जनप्रतिनिधिहरूले नै गरेपछि नक्सापास नगरी राखिएका कबाड संकलन केन्द्रमा महानगरले यसअघि डोजर चलाएको थियो ।

महानगरका अनुसार महानगरभित्र ९० वटा कबाडी संकलन केन्द्र रहेको र ३२ वटै वडामा कतै पनि कवाडी व्यवसाय राख्न नदिने नीति महानगरको रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us