मापसे गरेर होहल्ला गर्ने कार्यालय प्रमुख दाहाल प्रहरीको नियन्त्रणमा

काठमाण्डु टुडे २०८१ असार ४ गते १३:०० मा प्रकाशित

काठमाण्डु, ४ असार– प्रहरीले मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापका कार्यालय प्रमुख सुरेश दाहाललाई नियन्त्रणमा लिएको छ ।

मापसे गरेर होहल्ला गरेको, सर्वसाधारणलाई गाली गरेको भन्दै गुनासो आएपछि सोमबार प्रहरीले दाहाललाई नियन्त्रणमा लिएको प्रहरीेले जानकारी दिएको छ ।

मापसे गरेका दाहाललाई उद्धार गरेर प्रहरी कार्यालय ल्याइएको र उनको निगरानी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदीपकुमार सिंहले जानकारी दिएका छन ।

दाहालविरुद्ध अहिलेसम्म कुनै उजुरी नआएकोले उनी पक्राउ भने नपरेको तर निगरानीमा भने राखिएको उनले जानकारी दिएका छन ।

मापसे गरेर सम्हालिन नसक्ने अवस्थामा पुगेका दाहाललाई प्रहरीले गाडीमा हालिरहेको भिडियो सामाजिक सञ्जालमा यतिबेला भाइरल भइरहेको छ ।

भिडियो उनले सर्वसाधारणलाई गाली गरेको पनि देखिन्छ । दाहालले सोमबार बकर इदको सार्वजनिक बिदाका कारण कार्यालय बन्द भएपछि दिउसै मापसे गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us