काठमाण्डु, ३ असार– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी भित्र बिचारमा कुनै मतभेद नभएको बताएका छन । आज सोमबार पार्टी निकट अखिल नेपाल महिला संघ (समाजवादी)ले काठमाण्डुमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले. यस्तो बताएका हुन ।
उनले पार्टीले नेता, कार्यकर्ताहरुको सामूहिक बुद्धिबाट नै आगामी महाधिवेशनमा प्रश्तुत हुने राजनीतिक, सांगाठनिक लगायतका दस्तावेजहरु तयार पार्नुले पनि विचारमा कुनै मतभेद नरहेको पुष्टि हुन गएको बताएका हुन । उनले भने, ‘अहिले हाम्रो पार्टीमा विचारको कुनै मतभेद छैन ।
किनभने समाजवादी कार्यक्रमलाई झण्डा फहराउँदै अघि सार्ने हाम्रो पार्टीको नाम नै हो नेकपा कम्युनिष्ट पार्टी एकीकृत समाजवादी यो समाजवादी नामले नै के बताउँछ भने हामी समाजवादको यात्रामा अघि बढ्छौं भनेर पहिलो दिनदेखि नै पाईला त्यतैतिर सारेका छौं ।’ उनले पार्टीले आगामी महाधिवेशनबाट नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित रुपमा अगाडि सार्ने उल्लेख गर्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका छन ।
अध्यक्ष नेपालले आफ्नो पार्टीले नै स्थापनाका बेलामा समाजवादी कार्यक्रमलाई अघि सारेको भन्दै आगामी महाधिवेशनले त्यसलाई अझ व्यवस्थित बनाउनुपर्ने आवश्यकता औंल्याए । उनले पार्टीले महाधिवेशनका लागि तयार पारेका राजनीतिक, सांगठानिकलगायता दस्तावेजहरुको अध्ययन गरेर त्यसलाई अझ समृद्ध बनाउने काममा पनि सबैको भूमिकाको अपेक्षा गरिएको बताएका छन ।
उनले भने, ‘हामीले घोषणा पत्र जारी गर्दाखेरी वैज्ञानिक समाजवादको दिशामा अघि बढ्नुपर्छ भनेर हामीले प्रष्ट सोच र धारणा अगाडि सारेका छौं । पार्टीमा विभिन्न पक्षहरुबाट त्यसको व्याख्या र विश्लेषण गर्दै हामी अगाडि बढेका छौं,’ उनले भने, ‘स्वभाविक रुपमा पार्टीको महाधिवेशनले यी विचारहरुलाई व्यवस्थित रुपले अघि सार्नुपर्ने आवश्यकता पर्दछ ।’