सुनका गहना चोरेको आरोपमा एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ असार ३ गते १३:२२ मा प्रकाशित

काठमाण्डु, ३ असार– प्रहरीले पाल्पामा चोरीका सामानसहित एक जना व्यक्ति पक्राउ गरेको छ । पक्राउ पर्नेमा बगनासकाली गाउँपालिका–२ पोखराथोकका ४० वर्षीय अर्जुन कोइराला रहेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई असार १ गते बगनासकाली २ पोखराथोकबाट बा. प्र. ०२–०४३ प २५६४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनको साथबाट सुनजस्तो देखिने चार थान गरगहना, मोटरसाइकल, तीन थान मोबाइल, चाँदीको एक थान औठी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिएका छन ।

उनको साथबाट ११ वटा एनसेल र एनटिसीको ९ गरी २० थान सिमकार्ड र १८ हजार ६०० रुपियाँ नगद पनि बरामद गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन ।

पक्राउ परेका व्यक्ति गत जेठ १५ गते साँझ तानसेन १२ की नन्दकुमारी खत्रीले लगाएको दुई तोलाको सुनको सिक्री चोरी गरेर भागेको र सो घटनामा संलग्नको खोजी गर्ने क्रममा पक्राउ गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us