काठमाण्डुका पेट्रोल पम्पमा अत्यासलाग्दो लाइन

काठमाण्डु टुडे २०८१ असार ३ गते १२:५० मा प्रकाशित

काठमाण्डु, ३ असार– पेट्रोलियम पदार्थको अभाव को सुरु भएसँगै उपत्यकाका पेट्रोल पम्पहरुमा सवारी चालकहरुको लामो लाइन लागेको छ । काठमाण्डु उपत्यकाका पेट्रोल पम्पहरुमा लामो समयपछि सवारी साधनहरुको लाइन देखिएको छ ।

भारतले नेपालमा गरेको नाकाबन्दीको समयमा र त्यसपछि २०७८ सालमा पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीहरुको आन्दोलनका कारण पनि इन्धन अभाव भएको थियो ।

अहिले नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण आइतबारबाटै राजधानीका निजी पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्री रोकेका छन् ।

पेट्रोलियम मजदुरहरुले विभिन्न माग राखी आपूर्ति रोक्दा पम्पहरुमा इन्धन अभाव भएको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन ।

अधिकांश निजी पम्पमा ‘पेट्रोल छैन’ लेखिएको सूचना टाँस गरिएको छ । खुलेका केही पेट्रोल पम्पहरुमा भने लामो समय पालो पर्खनुपर्ने बाध्यता रहेको छ ।

गर्मीको बेला लामो समयसम्म लाइनमा बस्नुपर्दा सवारी चालकहरु हैरानमा परेका छन । पेट्रोलियम मजदुरहरुले सबै ट्यांकर चालकरसहचालकको श्रम ऐन अनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके अनुसार तलवको व्यवस्था गर्न माग गरेका छन् ।

स्वरोजगारको हकमा मात्र लागु गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्न तथा चालक र सहचालकलाई जोखिम भत्ताको व्यवस्था गरिनु पर्ने माग समेत उनीहरुले राखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us