
काठमाण्डु, २ असार– सुर्खेतको भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई किशोरको शव फेला परेको छ । आज आइतबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ चोक्टेस्थित भेरी नदीमा उनीहरूको शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।
शनिबार दिउँसो पौडी खेल्ने क्रममा कालिकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका–७, खजुरा बस्ने १९ वर्षीय विनोद केसी र सोही ठाउँ बस्ने १६ वर्षीय भूपेन्द्र केसी बेपत्ता भएका थिए ।
उनीहरूको शव डुबेको स्थानभन्दा केही तल भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन ।
शव सशस्त्र प्रहरी बल गोताखोरको टोलीले निकालेको हो । अत्यधिक गर्मी भएपछि उनीहरू गर्मी छल्नका लागि भेरी नदी पुगेको खुलेको प्रहरीले जानकारी दिएको छ ।