लेबनानको भूमिबाट इजरायलमा रकेट आक्रमण

काठमाण्डु टुडे २०८१ जेठ ३१ गते ११:५१ मा प्रकाशित

एजेन्सी– इजरायलको उत्तरी क्षेत्रमा लेबनानको भूमिबाट हिजबुल्लाहले रकेट आक्रमण सुरु गरेको छ । आक्रमणबाट भएको क्षतिको जानकारी भने सार्वजनिक हुन सकेको छैन ।

इजरायलले मंगलबार लेबनानको भूमिमा आक्रमण गर्दा हिजबुल्लाहका एक कमाण्डर अब्दुल्लाह तालेब मारिएका थिए । उनी इजरायल र हिजबुल्लाहबीच भएको आक्रमणबाट मारिएका हालसम्मका सबैभन्दा उच्च कमाण्डर भएको बीबीसीले जनाएको छ ।

त्यिसको प्रतिउत्तर स्वरुप इजरायलमाथि आक्रमण गरेको हिजबुल्लाहले जानकारी दिएको छ । हिजबुल्लाहले इजरायलका सैन्य इलाका र सैन्य बाहन बनाउने फ्याक्ट्रीलाई निशाना बनाइएको जनाएको छ । आक्रमणका कारण इजरायलका विभिन्न स्थानमा आगलागी भएको छ ।

आकाशमा अग्नि नियन्त्रक विमानहरु उडेको देखिन्छ । लेबनानको भूमिबाट इजरायलमा बुधबार रकेटको वर्षा भएको अन्तराष्ट्रिय समाचार संस्था बीबीसीले जानकारी दिएको छ ।

यो आक्रमणलाई गत वर्ष अक्टुबरदेखि इजरायल र हमासबीच गाजामा युद्ध सुरु भएपछि लेबनानको तर्फबाट इजरायलमा भएको यो सबैभन्दा ठूलो आक्रमण मानिएको छ । लेबनानले आक्रमण गरेपछि खतराको संकेत स्वरुप साइरन बजाइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us