संसदीय रेकर्डबाट हट्यो ७२ जिल्ला विदेशीलाई लिजमा दिने अमरेशको अभिव्यक्ति

काठमाण्डु टुडे २०८२ असार ८ गते १२:५१ मा प्रकाशित

काठमाण्डू, ८ असार– ७२ जिल्ला विदेशीलाई लिजमा दिने प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइएको छ ।

आज (आइतबार) बसेको प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै उनले चाररपाँच जिल्लामा मात्रै बजेट केन्द्रित रहेको आरोप लगाउँदै ७२ जिल्ला लाई विदेशीलाई लिजमा दिनु पर्ने अभिव्यिक्ति दिएका थिए ।

उनले बजेट कम परेका जिल्लालाई विदेशीलाई लिजमा दिन भनेर सरकारमाथि व्यङ्ग्य गरेका थिए । स्वतन्त्र सांसद सिंहले भनेका थिए, ‘बजेट पाएका चाररपाँच जिल्लाहरू छन् त्यसलाई नेपालमा राखौं बाँकी ७२ जिल्ला लिजमा दिऔं अर्को देशलाई ।

अमेरिकालाई दिऔं, चाइनालाई दिऔं, भारतलाई दिऔं । ति जिल्लामा बजेट नै जाँदैन भने किन राख्ने ? खाली कर लिनलाई राख्ने ?’ तर, उनको यस्तो अभिव्यक्ति नेपालको सार्वभौमिकता र राष्ट्रिय अखण्डतासँग जोडिएको भनेर नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले नियमापत्ति गरे ।

त्यसपछि सभामुख घिमिरेले पाँच वटा जिल्लाको नाम लिएर बाँकीलाई लिजमा दिए हुन्छ भनेर दिएको अभिव्यक्ति असंसदीय रहेको भनेर संसदीय रकर्डबाट हटाउन संघीय संसद् सचिवालयलाई निर्देशन दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us