कश्मिरमा बन्धक बनाइएका ३६ नेपालीको उद्धार, दुई जना पक्राउ

काठमाण्डु टुडे २०८१ जेठ २ गते १७:०१ मा प्रकाशित

काठमाण्डु, २ जेठ– भारतको कश्मिर पुर्‍याएर बन्धक बनाइएका ३६ जना नेपालीको उद्धार गरीएको छ । सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मिर पुगेका उनीहरूलाई उद्धार गरेर नेपाल फर्काउने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।

भारतीय प्रहरीले बन्धक बनाउने काममा संलग्न दुई जनालाई पक्राउ गरेको छ । मुख्तकिम आलम र मो. साजाद पक्राउ परेको भारतीय प्रहरीले जानकारी दिएको छ ।

मंगलबार दिल्लीस्थित नेपाली राजदूतावास र सामाजिक संस्था किन इन्डियाको समन्वयमा सबै मजदुरलाई कश्मिरबाट उद्धार गरी दिल्ली लगिएको छ ।

कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्काउने काम भइरहेको भारतीय दूतावासले जानकारी दिएको छ । उनीहरूलाई करिब ३ महिनादेखि बन्धक बनाएको थियो ।

कश्मिर लगेपछि उनीहरूसँग भएको नगद, नागरिकता र मोबाइल खोसेर ठेकेदारले पारिश्रमिकसमेत नदिइ कुटपिट गरेको, डर, धम्की देखाएर काममा लगाएको पीडितहरूको गुनासो छ । उद्धार गरिएका सर्लाहीका दिनेश पासवानले गएको दिन नै कुटपिट गरी मोबाइल, नगद सबै खोसेर काममा लगाएको बताएका छन ।

उनले भने, ‘खाना पनि राम्रोसँग दिएनन् ।’ त्यस्तै धनुषाका रञ्जित चौधरीले आफूहरूलाई मार्नेसम्मको धम्की दिएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us