प्रधानमन्त्रीद्वारा सुनकोशी-मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’

काठमाण्डु टुडे २०८१ वैशाख २६ गते १३:२२ मा प्रकाशित

सिन्धुली, २६ वैशाख– सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन् ।
प्रधानमन्त्रीले टिबीएम स्विच थिचेपछि आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्न पसेको टिबीएम मेसिन सुनकोशी नदी किनार कानढुङ्ग्रीबाट बाहिर निस्किएको थियो ।
राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत कमलामाई–२ कुसुमटारदेखि सुनकोशी– ७ कानढुङ्ग्रीसम्म सुरुङ रहेको छ । यसको क्षेत्रफल १३ दशमलव ३ किलोमिटर छ ।

लक्ष्यभन्दा एक वर्षअघि नै सुरुङ ‘ब्रेक थ्रु’ गर्न सफल भएको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिए । खन्न सुरु भएको १९ महिनामा सुरुङ ‘ब्रेक थ्रु’ भएको छ ।
एकैदिन ७२ मिटरसम्म सुरुङ खनिएको आयोजनाले जनाएको छ । २०७९ असोज २८ गतेदेखि सुरुङ खन्ने काम सुरु भएको र विभिन्न कारणले ६ पटकसम्म काममा अवरोध भएको प्रमुख बरालले बताए ।
सुरुङभित्र सुक्खा पहिरो खस्ने, लेदोसहित पाखो नै खस्ने हुँदा सुरुङ खन्ने टिबीएम मेसिन अगाडि बढ्न नसक्दा काम रोकिएको थियो ।
उच्च प्रविधिबाट ५.५ डायमिटरको सुरुङ मार्गमा गुणस्तरीय सेगमेन्ट प्रयोग भएको आयोजनामा कानढुङ्ग्रीस्थित सुनकोशी नदीमा ३० मिटर उचाइ र एक सय ५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङमार्फत पानी कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ। त्यहाँ ६६ मिटर उचाइबाट पानी झारेर ३१।०७ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।

सुरुङ निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनीयरिङ (कोभेक) ले पाएको हो । यस कम्पनीले यसअघि भेरी बबई डाइभर्सनमा सुरुङ निर्माणको काम गरिसकेको छ । सुनकोशी मरिणमा सुरुङ खन्न मात्र कोभेकले रु १० अर्ब पाँच करोड ६८ लाखमा ठेक्का लिएको प्रमुख बरालले जानकारी दिए ।
नदीमा बाँध बाँधेर सुनकोशीको पानी मरिण खोलामा खसाली मधेसका पाँच जिल्लामा वर्षैभरि सिँचाइ तथा विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार काम सुरु भएको हो ।

आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ। आयोजनाको कुल लागत रु ४९ अर्ब ४२ करोड रहेको आयोजनाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us