काँग्रेस नेतासँग भेटेर एक कप चिया पनि खाएको छैनः यादव

काठमाण्डु टुडे २०८१ वैशाख २६ गते १३:०७ मा प्रकाशित

काठमाण्डु, २६ वैशाख– जनता समाजवादी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवले आफूले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गिराउन कुनै षड्यन्त्र नगरेको प्रष्टीकरण दिएका छन् ।

पार्टी विभाजनबारे धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बुधबार उनले सरकार ढाल्न खोजेको भन्दै आरोपको प्रतिवाद गरे । उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले अहिले पनि सरकारलाई दिएको समर्थन कायमै रहेको बताए ।

आफू संयुक्त राष्ट्रसंघमा गएको मौका छोपेर जसपा र नेकपा एकीकृत समाजवादी मिलेर सरकार ढाल्ने भए भनेर हल्ला चलाएको र त्यसमा कुनै सत्यता नरहेको उनको प्रष्टोक्ति थियो । सरकार ढाल्ने विषयमा आफूले कांग्रेस नेताहरूसँग छलफल नगरेको पनि दाबी गरे । ‘संयोग नै मान्नुपर्छ यो सरकार बनेपछि मैले कांग्रेसका एक जना नेतालाई भेटेको छैन । सँगै बसेर एक कप चिया पनि खाएको छैन,’ यादवले भने, ‘संघीयताको रक्षा र सरकारको स्थायित्वको लागि यही सरकारलाई समर्थन गर्नुपर्छ भन्नेमा पहिले पनि थिएँ । समर्थन यथावत् छ ।’

यादवले पार्टी विभाजन असंवैधानिक भएकाले न्यायिक निरुपणका लागि अदालत जाने जानकारी दिए । निर्वाचन आयोगले अशोक राई नेतृत्वमा अवैधानिक तरिकाले नयाँ दल दर्ता गराएको टिप्पणी उनको थियो । आफू देशबाहिर भएका बेला पार्टी विभाजन गरिएको र निर्वाचन आयोगले पनि हतारमा दल दर्ताको प्रमाणपत्र दिएको यादवले बताए ।

‘केही व्यक्तिहरूले अत्यधिक महत्वाकांक्षी र व्यक्तिगत स्वार्थबाट प्रेरित व्यक्तिहरूले फाइदा उठाएर पार्टी विभाजनको घोषणा गरेको र दल दर्ता भएको खबर आयो । ऐन नै नभएका बेला रातारात पार्टी दर्ता भएको घोषणा भयो’, यादवले भने, ‘नेपालको इतिहासमा दल दर्ताको प्रमाणपत्र दिएको सायद पहिलोपटक हो । संघीयतालाई धरापममा पार्ने गरी पार्टी विभाजन गर्न भनेर गरे त्यो असंवैधानिक छ । त्यसलाई हामी कोर्टमा लिगल चुनौती दिन्छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us