वामपन्थीबिच अहिले एकताको सम्भावना छैनः प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०८१ वैशाख ९ गते १५:२४ मा प्रकाशित

काठमाण्डु, ९ वैशाख– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थीबिच अहिले एकताको कुनै सम्भावना नरहेको बताएका छन् ।

आज (आइतबार) कैलालीको धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले तत्काल वाम एकताको सम्भावना नभएको बताएका छन । उनले भने, ‘अहिले वाम एकता भन्नु सही पनि छैन किनभने वाम, गैरवाम सबै छन् ।

त्यसैले सत्ता समीकरणका रूपमा लिएका छौँ । राम्रो काम हुँदै गयो, छलफल राम्रो हुँदै गयो, समझदारी राम्रो बन्दै गयो भने वामपन्थी विचार मिल्नेहरू एक ठाउँमा हुने सम्भावना पनि बढ्दै जान्छ, ‘त्यस्तो भएन भने अप्ठ्यारो स्थिति पनि हुन सक्छ ।

जे भए पनि अहिले वामपन्थी एकता होइन, राजनीतिक सत्ता समीकरणका रूपमा मात्र यसलाई हेरिएको छ ।’ यस्तै उनले सरकारको नीति तथा कार्यक्रम, बजेट परम्परागत भन्दा फरक तरिकाले ल्याउने प्रयास गरिरहेको पनि जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us