एकीकृत समाजवादीलाई कमजोर ठाने देशमा अर्को उथलपुथल हुन्छ: माधव नेपाल

काठमाण्डु टुडे २०८१ वैशाख ८ गते १७:२२ मा प्रकाशित

काठमाण्डु, ७ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफू कसैको दास बन्ने व्यक्ति नभएको बताएका छन ।

आज (शनिबार) आफ्नो गृह जिल्ला रौतहटमा रहेका नेपालले आफूहरूलाई कसैले कमजोर ठान्ने कुचेष्टा गरे देशमा फेरि अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिएका छन ।

उनले आफू देशका ठुला हस्ती राजा वीरेन्द्रदेखि ज्ञानेन्द्र, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालादेखि प्रचण्डसम्मलाई सामना गरेर आएको नेता भएकोले आफू र आफ्ना पार्टीलाई कसैले कमजोर नठान्न नेपालको चेतावनी दिएका छन ।

आज रौतहटको गौर नगरपालिका–२ महादेवपट्टि स्थित लालबकैया नदीमा नवनिर्मित मधेस प्रदेशकै सबभन्दा दोस्रो लामो झोलुङ्गे पुलको उद्घाटन गर्न अध्यक्ष माधव नेपालले त्यता गएका थिए ।

त्यस क्रममा उनले पूर्व प्रधानमन्त्री नेपालले आफूहरूको आफ्नै स्वाभिमान, पहिचान, मूल्यमान्यता र महत्त्व रहेकोले हल्कामा नलिन सुझाव दिए ।

उनले वर्तमान चार दलीय सत्ता गठबन्धनलाई लक्षित गर्दै उनले भने, ‘हामी कसैको दास होइनौ र कसैको इशारामा चल्ने व्यक्ति पनि होइनौ । त्यसैले यदि हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन वा बेवास्ता गर्यो भने उसलाई ठुलो मूल्य चुकाउनुपर्छ ।’

नेता नेपालले अघि थपे, ‘हाम्रो आफ्नै स्वाभिमान र महत्त्व छ, त्यसैले यो कुरा बुझ्यो भने ठिक छ नत्र सबै उल्टिन्छ र देशमा अर्को उथलपुथल हुन्छ ।’

एकीकृत समाजवादीले सात प्रदेश मध्ये एउटा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पाएको बताउँदै उनले भने, ‘त्यहाँ आफ्ना पार्टीका चार जना प्रदेश सांसद छन् र ती चारै जना सरकार निर्माणका लागि निर्णायक छन्, हाम्रा प्रदेश सांसदहरू जता जान्छन् उतै सरकार बन्छ, अनि सरकार छाड्यो भने ढल्छ, ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us