देउवा–माधवबीच गोप्य भेटवार्ता, सुदूरपश्चिममा सोडारीलाई एमालेले साथ नदिए कांग्रेसले सघाउने

काठमाण्डु टुडे २०८१ वैशाख ६ गते १३:१६ मा प्रकाशित

काठमाण्डु, ६ वैशाख– पूर्व प्रधानमन्त्री एव कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बीच भेटवार्ता भएको छ ।

कांग्रेसका नेता डा. नारायण खड्काको निवासमा देउवा र नेपाल बीच बुधबार बेलुका गोप्य भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ । साँझ ६ बजेदेखि करिब डेढ घण्टा दुई नेता बीच संवाद भएको स्रोतले जानकारी गराएको छ ।

छलफल मुख्य गरी सुदूरपश्चिम सरकारका बारेमा केन्द्रित थियो । बैठक स्रोतले भन्यो, ‘सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्रीमा एमालेले समर्थन नगरे कांग्रेसले समर्थन गर्ने गरी कुरा भएको छ ।’

केन्द्रीय सरकारमा नयाँ समीकरण बनाउन सकिने बारे पनि कुरा बैठकमा छलफल भएको स्रोतले जानकारी दिएको छ । सत्ता गठबन्धनमा सुदूरपश्चिममा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनाउने निर्णय भएको छ ।

एकीकृत समाजवादीले प्रदेशका संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । सोडारीका पक्षमा भने एमाले देखिएको छैन । मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय आज सकिँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us