खोटाङमा हत्या आरोपमा तीन जना पक्राउ

काठमाण्डु टुडे २०८१ वैशाख ३ गते १८:२३ मा प्रकाशित

काठमाण्डु, ३ वैशाख– प्रहरीले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित निभारेका ३१ वर्षीय धनजित राईको हत्या आरोपमा ३ जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँका २२ वर्षीय विकास राई, १८ वर्षीय आशन राई र २८ वर्षीय गणेश राई रहेको प्रहरीले जानकारी दिएको छ । गत १ वैशाखको राति करिब ८ बजे स्थानीय भीमबहादुर बस्नेतको मकैबारीमा छुरा प्रहार गरी धनजितको हत्या भएको थियो ।

हत्याको घटनापछि फरार उनीहरुलाई सोही नगरपालिकाको–१० पाथेकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिएका छन ।

उनीहरु तीनैजनाले धनजितको हत्यामा संलग्नता स्वीकार गरेका छन् । त्यस दिन पक्राउ परेका युवाले मादक पदार्थ सेवन गरी भीमबहादुर बस्नेतलाई उनकै घरमा गएर कुटपिट गरेका पाइएको प्रहरीले जनाएको छ ।

धनजित भीमबहादुरले गुहार मागेपछि पुगेका । त्यसै क्रममा युवाहरुले धनजितमाथि छुरा प्रहार गरेको पाइएको प्रहरीको भनाइ छ । धनजितले आफू घाइते भएपछि घटनास्थलबाट साहिला भाइलाई फोन गरेर जानकारी गराएका थिए ।

भाइसँगको फोन सम्पर्कपछि खोज्दै जाँदा धनजितलाई मकैबारीमा मृत फेला पारिएको स्थानीय उमेश राईले जानकारी दिए । मृतक धनजित र भीमबहादुर गाउँमा घर बनाउने काम गर्थे । त्यस दिन तीन युवाको आक्रमणबाट भीमबहादुर र उनकी पत्नी प्रेमकुमारी सामान्य घाइते छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us