गृह जिल्ला झापामै ओलीको निर्देशन पालना भएन

काठमाण्डु टुडे २०८० चैत १६ गते १८:२८ मा प्रकाशित

काठमाण्डु, १६ चैत– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा नै नयाँ नेतृत्व छनौटको विषयमा ओलीको निर्देशन पालना भएन । एमालेमा नयाँ नेतृत्व छनौटको विषयलाई लिएर झापामा विवाद चुलिएको छ ।

अध्यक्ष ओलीले एमाले झापाका अहिलेका कार्यबाहक अध्यक्ष प्रेम गिरीलाई नै अगाडि सारेपछि विवाद सिर्जना भएको हो । अहिलेका सचिव शिव ढुङ्गेलले आफू अध्यक्ष बन्ने दाबी गरिरहेका छन् ।

सहमति नभएको खण्डमा निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनु पर्ने उनले बताएका छन । दुवै जनाबिच सहमति हुन नसकेको कारण आजका लागि तोकिएको उम्मेदवार मनोनयनको कार्यतालिका प्रभावित भएको एमाले झापाका एक नेताले जानकारी दिएका छन ।

निर्वाचन समितिले आज दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि उम्मेदवारको दरखास्त फारम वितरण गर्ने र साढे ३ बजेदेखि बेलुका ७ बजेसम्म उम्मेदवारको दरखास्त फारम दर्ताको समयावधि तोकेको थियो ।

तर, सहमतिको आधारमा मात्रै उम्मेदवारी दरखास्त फारम दर्ता गर्ने अध्यक्ष ओलीकै चाहना बमोजिम आजको लागि उक्त प्रक्रिया रद्द गरिएको उनले जानकारी दिएका छन । निर्वाचन समितिले शनिबार बिहान ९ बजेदेखि उम्मेदवारी दर्ताको समयावधि तोकिएको जनाइएको छ । नेतृत्वले सर्वसम्मत ढङ्गले पार्टी समिति घोषणा गरेको भन्ने विषयमा आफूलाई थाहा नभएको ढुङ्गेलले बताए ।

‘म पनि अध्यक्षको उम्मेदवार हुँ । प्रतिस्पर्धाको लागि तयार भएर बसेको छु,’ ढुङ्गेलले भने । यसअघि झापा जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष केपी ओलीले बिहीबार नेतृत्व सर्वसम्मत चयन गर्न आग्रह गरेका थिए भने गिरीको नेतृत्वमा उपाध्यक्षमा असारु राजवंशी र सचिवमा तुलसी कार्कीको नामै लिएका थिए ।

तर, दुई आकांक्षीबीच सहमति जुट्न नसकेपछि निर्वाचन हुने अवस्थामा पुगेको एमालेका जिल्ला नेताहरूले बताएका छन । प्रमुख निर्वाचन अधिकृत टंकप्रसाद दंगालले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार १८ गते बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदान हुने उल्लेख थियो ।

एमाले झापाको अधिवेशनमा ८ सय ३२ जना प्रतिनिधिहरू सहभागी रहका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us