केही समयपछि कांग्रेस फेरि सरकारमा आउँछ: महामन्त्री थापा

काठमाण्डु टुडे २०८० चैत १६ गते १६:३६ मा प्रकाशित

काठमाण्डु, १६ चैत– कांग्रेस महामन्त्री गगन थापाले अबको केहिसयमै कांग्रेस पुनः सरकारमा पुग्ने दाबी गरेका छन् । आज शुक्रबार संवाद यात्राका क्रममा कपिलवस्तुमा आयोजित कार्यक्रममा थापाले पार्टी फेरि सरकारमा जाने बताएका छन ।

उनले भने, ‘भर्खर त गएको हो । एकडेढ हप्ता भयो, ‘फेरि आइहाल्छ । धेरै पनि छैन । केही समय पछि फेरि आउँछ । सरकारले त कांग्रेसलाई पछ्याइहाल्छ ।’ उनले देशलाई सम्हालेर निराशाबाट बाहिर निकाल्न सक्ने कांग्रेस मात्रै भएको दाबी गरेका छन ।

एमाले, माओवादी, नयाँ दलसँग निराशाबाट देशलाई बाहिर निकाल्ने चरित्र नभएको महामन्त्री थापाले बताएका छन । उनले भने, ‘नेकपा एमालेसँग आन्दोलन गर्ने क्षमता छ । मधेसी पार्टीहरूसँग नागरिकलाई उद्वेलित बनाउने क्षमता छ ।

नयाँ पार्टीसँग हल्ला गर्ने क्षमता होला, ‘तर, मुलुकलाई निराशाबाट बाहिर निकाल्ने क्षमता र चरित्र भएको पार्टी कांग्रेस नै हो ।’ उनले मुलुकलाई निराशाबाट बाहिर निकाल्नका लागि पहिला कांग्रेसभित्रको पनि निराशा चिर्नुपर्ने बताएका छन ।

यस्तै उनले आगामी चुनावअघि गठबन्धन नगर्ने महासमितिबाट पारित प्रस्ताव केन्द्रीय समिति बैठकबाट अनुमोदन हुने महामन्त्री थापाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us