एसईईको प्रश्नपत्र आउट भएको घटनामा एक विद्यार्थी पक्राउ

काठमाण्डु टुडे २०८० चैत १६ गते १२:३२ मा प्रकाशित

काठमाण्डु, १६ चैत– हिजोबाट सुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसईई) प्रश्नपत्र बाहिरिएको घटनामा एक विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले सुखीपुर नगरपालिकास्थित रजत जनक माविकी एक छात्रालाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन ।

गोलबजार नगरपालिकास्थित जनता मावि परीक्षा केन्द्रबाट एसईई दिएकी उनको साथबाट मोबाइलका साथसाथै प्रश्नपत्र र उत्तरसमेत फेला परेपछि पक्राउ गरिएको उनले जानकारी दिएका छन ।

प्रश्नपत्र बाहिरिएका विषयमा राष्ट्रिय परीक्षा बोर्डमा रिपोर्ट पठाइएको र माथिबाट आउने निर्देशनको आधारमा निर्णय लिइने उनले जानकारी दिएका छन ।

शुक्रबार नेपाली विषयको परीक्षा भएकोमा गोलबजार नगरपालिका अन्तर्गतको चोहर्वा परीक्षा केन्द्रका साथै अन्य विभिन्न केन्द्रबाट पनि प्रश्न पत्र बाहिर पुगेको थाहा भएको छ ।

चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्नपत्र केन्द्राध्यक्ष र गार्डहरू कै सहयोगमा बाहिर निकालिएको बताइएको छ । त्यहाँबाट तस्बिर खिचेर ह्वाटसअपमा छ्यापछ्याप्ती बनाइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us