कर्णाली पुलबाट हाम फाल्ने युवक मृत फेला

काठमाण्डु टुडे २०८० चैत १५ गते १७:३८ मा प्रकाशित

काठमाण्डु, १५ चैत– चार दिनअघि (होलीको दिनमा) कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक मृत फेला भेटिएका छन ।

कैलालीको लम्की–चुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । गत सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका शाहीको शव बिहीबार टिकापुर–२ संकटी घाटमा भेटिएको कैलालीका एसपी पदम विष्टले जानकारी दिएका छन ।

शाहीको शव दुर्घटनास्थलबाट करिब १५ किलोमिटर तल भेटिएको एसपी विष्टले जानकारी दिएका छन । घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले बेपत्ता शाहीको खोजी कार्य सुरु गरेको थियो । उनको खोजीका लागि सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनी अत्तरियाबाट सातजनाको गोताखोर टोली परिचालन गरिएको थियो ।

पुलबाट हाम फालेका १७ जनामध्ये शाही मात्र नदीमा डुबेर बेपत्ता भएका थिए । हाम फाल्ने अन्य व्यक्ति पौडी खेलेर बाहिर निस्केका थिए । पुलबाट हाफ फाल्नुअघि उनीहरूले चिसापानीमा मदिरा सेवन गरेको खुलेको प्रहरीले जानकारी दिएको छ । उक्त घटनाबारे अनुसन्धान गर्न पुलबाट हाम फाल्ने आठ जनालाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us