अगाडि बढ्ने सम्भावना देखेर म प्रधानमन्त्रीको पदमा बसिरहेको छु: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०८० चैत १५ गते १४:५६ मा प्रकाशित

काठमाण्डु, १५ चैत– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न प्रक्रियागत झण्झटले काममा ढिलाइ भइरहेको बताएका छन् ।

यद्यपि अगाडि बढ्ने सम्भावना भएकै कारण आफू प्रधानमन्त्रीको पदम बसिरहेको उनले बताएका छन । आज बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै प्रधनमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले भने, ‘प्रधानमन्त्रीको पदमा किन बसिरहेको छु भने अगाडि बढ्ने सम्भावना देखिएको छु ।

मैले अघि भने नि म अथवा अरू सङ्घीयताका लागि सङ्घर्ष गर्ने साथीहरू नभएको भए सङ्घीयता निजामती ऐन पनि संसदमा पुग्दैनथ्यो । प्रहरी समायोजन ऐन यो चरणमा पुग्दैनथ्यो ।

त्यही भएर अघि बढ्ने सम्भावना छ।’ उनले कुनै पनि काम अघि बढ्न सकेन भने अर्को उथलपुथल गर्न बेर नलाग्ने पनि बताएका छन । ‘त्यो मैले अरूलाई भनेको होइन है ।

फेरि मेरै लागि मैले भन्ने गरेको छु काम गर्न सकिने अवस्था हुन सकेन भने पद ओगटेर बसिरहनु हुँदैन’, उनले भने । उनले आफूले पदको सुरक्षाका लागि अर्को समीकरण नबनाएको स्पष्ट गर्दै काम तीव्र गर्नका लागि नै यो गरेको बताए ।

सुशासन र विकास निर्माणका कामलाई गति दिन आफूले चाहेको उनको भनाइ छ । तर, अरूलाई अप्ठ्यारो पार्ने खालको उथलपुथल नचाहेको उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us