
दाङ, १२ फागुन– भ्रष्टाचार आरोपमा अख्यितार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दर्ता गराएका लुम्बिनी प्रदेशसभा सदस्य जानकरुप्रसाद यादव निलम्बित भएका छन् ।
यादव राप्रपाबाट कपिलवस्तु– ३ (क) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
यादवविरूद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेकाले उनलाई निलम्बन गरिएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ ।
कपिलवस्तुको गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले कटान गरेको काठ बिक्रीबाट आएको रकममा यादवले भ्रष्टाचार गरेको ठहर अख्तियारले गरेको छ ।
लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा अख्तियारले विशेष अदालतमा मुद्धा दर्ता गरेको अवस्थामा मुद्धाको किनारा नलागेसम्मको लागि प्रदेशसभा सदस्यबाट निलम्बन गरिएको उल्लेख छ । मुद्धाको किनारा नलागेसम्म यादव निलम्बनमै रहने छन् । आरोप प्रमाणित भएमा भने उनको पद स्वतः खारेज हुने कानूनी व्यवस्था छ ।
गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले आर्थिक वर्ष २०७४/०७५ मा ३७ हजार क्यूफिट काठ काट्न ठेक्का निकालेको थियो ।
जसका लाति ८ सय १ वटा रुख काटिएका थिए । ३५ हजार ७७८.१० क्युफिट काठ र ४९.२३ चट्टा दाउरा संकलन हुनुपर्नेमा मिलेमतोमा कम नापजाँच गराई भ्रष्टाचार भएको अख्तियारले जनाएको छ । यादव व्तिबेला उक्त सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तथा वन व्यवस्थापन समिति संयोजक थिए ।
अख्तियारले लुम्बिनी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका यादव र दुई वन अधिकृतसहित उक्त प्रककरणमा संलग्न १९ जनाविरुद्ध भ्रष्टचार मुद्धा दायर गरेको छ । अख्तियारले २९ लाख १२ हजार १ सय ९३ रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको छ ।