सबैको अधिकारका लागि लडेको हुँ, मधेस, पहाड र हिमालको एकता सुदृढ बनाउन लाग्छुः प्रचण्ड

काठमाण्डु टुडे २०८० फागुन १२ गते १७:२१ मा प्रकाशित

जनकपुर, १२ फागुन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा मधेसलाई विशेष व्यवस्था गरिने बताएका छन् ।

धनुषाको सबैला नगरपालिका–४ पटेर्वाघाट र सिरहाको कल्याणपुर नगरपालिको–५ चिकना जोड्ने पक्की पुलको शनिबार शिलान्यास गर्दै प्रधानमन्त्रीले अबको नीति तथा कार्यक्रम एवं बजेटमा विशेष व्यवस्था गर्ने विश्वास दिलाए ।
आफूले सरकारको नेतृत्व गरेपछि नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने विषयलाई गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै प्रचण्डले तराईमा सिंचाइ, मलबिउको व्यवस्था गर्ने र कृषि प्रविधिलाई बढवा दिने कार्यमा लग्ने बताए ।

नेपालको अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्नका लागि ठूला आयोजना निर्माणमा सरकारले ध्यान दिएको बताउँदै उनले बुढीगण्डकी एवं कर्णाली चिसापानीजस्ता गेम चेन्जर आयोजनालाई अगाडि बढाइने उल्लेख गरे । ‘मधेसको विकासबिना देशको विकास सम्भव छैन, मधेसको मुक्तिबिना देशको मुक्ति सम्भव छैन’, प्रचण्डले भने, ‘मसेधी जनताको समृद्धि भएन भने देशको समृद्धि सम्भव छैन ।’

मधेस, पहाड र हिमालको एकताका लागि आफूले सिरहामा निर्वाचनमा भाग लिएको स्मरण गर्दै उनले मधेसी जनताको मत लिएर संघीय गणतन्त्रको संविधान निर्माण गर्न पाएकोमा गर्व महसुस हुने गरेको बताए । ‘मधेस, पहाड र हिमालको एकतालाई सुदृढ गर्नका लागि सबैको पहिचान र अधिकारको लागि लडेको नाताले एक एकता कायम गर्न मेरो जिम्मेवारी छ ।’ ४० वर्षअघि भूमिगत कालमा आफू यस क्षेत्रमा आएको स्मरण गर्दै उनले सबैला, वस्तीपुरलगायतका क्षेत्रका जनतासँग आफ्नो नजिकको सम्बन्ध रहेको उल्लेख गरे ।

सिरहा र धनुषाका लागि पुल निर्माण महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै प्रचण्डले यस क्षेत्रका जनताको जीवनस्तर सुधार्न आफू लागिपर्ने बताए । । पुल निर्माणमा बजेट व्यवस्था गर्ने र दुई वर्षभित्र निर्माण सम्पन्न हुने दाबी उनको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us