हारजित जेसुकै होस् एक्लै चुनावमा जानुपर्छ: सचिव पौडेल

काठमाण्डु टुडे २०८० फागुन ९ गते १८:१७ मा प्रकाशित

काठमाण्डु, ९ फागुन– नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले हारजित जेसुकै भए पनि आगामी निर्वाचनमा एक्लै भाग लिनुपर्ने बताएका छन ।

कांग्रेसको जारी महासमिति बैठकमा चुनावअघि गठबन्धन गर्ने कि नगर्ने विषयमा छलफल भइरहेका बेला उनी गठबन्धनको विपक्षमा उभिएका हुन ।

उनले भने, ‘लोकतन्त्रमा दलहरूले सकेसम्म आफ्नो पोजिसन आफ्नै थितिअनुसार अलग अलग ढङ्गले चुनाव लड्दा जनताको बिचमा आफ्नो हैसियत प्रस्ट हुन्छ ।

त्यसैले हामीले पनि आफ्नै ढङ्गले चुनावमा भाग लिनुपर्छ, ‘हारजित जेसुकै होस् एक्लै जानुपर्छ भन्ने निर्णय गरेका छौँ । कांग्रेसले पनि त्यो निर्णय गर्ने कुरालाई हामी अन्यथा मान्दैनौँ । गठबन्धन भनेको परिणाम आइसकेपछि सरकार बनाउन बहुमत पुगेन भने त्यो बेला गर्ने विषय हो ।

तर सामान्यतया दलको नियम अनुसार चुनाव एक्लै लड्ने कुरा आफैमा सही छ ।’ उनले मिसन ८४ आउन धेरै समय बाँकी रहेकाले त्यतिबेलासम्म पार्टीलाई बलियो बनाउने कोसिस गर्ने बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us