
काठमाण्डु, २९ माघ– गठबन्धनको प्रमुख घटक कांग्रेसले गठबन्धनलाई फलदायी बनाउन निरन्तर लागिपरेको बताएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन लाभदायक नभएको टिप्पणी गरेपछि कांग्रेसले यस्तो बताएको हो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस सबैभन्दा ठुलो पार्टी भएर पनि माओवादीलाई सरकारको नेतृत्व दिएको भन्दै उसका लागि गठबन्धन लाभदायक नै दाबी गरेका छन । उनले भने, ‘हामीले गठबन्धन फलदायी बनाएकै छौँ । कांग्रेस सबैभन्दा ठुलो पार्टी भएर पनि माओवादीलाई नेतृत्व दिएका छौँ ’ ।
कांग्रेस माओवादीसँगको सहमति र सम्झौता अनुसार अगाडि बढिरहेको भन्दै उनले गठबन्धन कहाँनिर अनकम्फर्टेबल भयो भनेर प्रश्नसमेत गरेका छन । उनले माओवादीसँगको सहमति र सम्झौता अनुसार नै अगाडि बढिराखेको पनि बताएका छन । उनले सहमति र सम्झौता अनुसार अगाडि बढ्न तयार रहेको पनि बताएका छन ।
आज सोमबार पार्टी केन्द्रीय समिति बैठकमा सम्बोधनका क्रममा प्रचण्डले राष्ट्रियसभा निर्वाचनमा कोशीमा कांग्रेसबाट भएको अन्तर्घातका साथै विभिन्न घटनाक्रहरु हेर्दा गठबन्धन लाभदायक बन्न नसकेको बताएका थिए । उनले भनेका थिए, ‘कांग्रेससँगको हाम्रो सहकार्य राजनीतिक दृष्टिकोणले त एउटा आवश्यकता हो । तर, हाम्रो पार्टीको समग्र विकासको दृष्टिकोणले त्यो लाभदायक भएको देखिएन ।’