बेलायतमा आगलागीमा परी नेपाली दिदीबहिनीको मृत्यु

काठमाण्डु टुडे २०८० माघ २० गते १५:४३ मा प्रकाशित

काठमाण्ड, २० माघ– बोलायतको एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका नेपाली आँचल सुवेदी र शिक्षा सुवेदीको सोमबार साँझ भएको आगलागीमा मृत्‍यु भएको स्थानीय प्रहरीले पुष्टी गरेको छ ।

शिक्षा २४ वर्ष र आँचल २८ वर्षका हुन्। उनीहरुका पिता पोखरा युनिभर्सिटीका पूर्व प्राध्यापक डा यज्ञप्रसाद सुवेदी हुन्। एबर्डिनस्थित नेप्लिज हिमालयन एशोसिएसन स्कटल्यान्डका अध्यक्ष डा. शिव तिवारीका अनुसार आगलागीका कारण निस्किएको धुँवाको मुस्लोमा निसास्सिएर सुवेदी दिदीबहिनीले ज्यान गुमाएका हुन् ।

उनीहरु बस्ने फ्ल्याट दोस्रो तलामा थियो भने सोही भवनको पहिलो तलामा साँझ ६ बजेको समयमा आगलागी सुरु भएको थियो। आगलागी भएको थाहा पाउनेबित्तिकै हतार–हतार तल झरेर बाहिरिन खोज्दा उनीहरु धुँवाको ठूलो मुस्लोमा निसास्सिएपछि भूईं तलाको ढोका खोल्न नपाउँदै बेहोस भएर ढलेका थिए ।

आगो सुरु भएलगत्तै आएका अग्नीनियन्त्रकले भवनका उपल्लो तलाका अन्य फ्ल्याटमा रहेका मानिसहरुको सफल उद्धार गरे पनि भुईं तलामा बेहोस दिदीबहिनीको उद्धार हुन नपाइ मृत्‍यु भएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us