भगौडा सेनालाई लिन आएको म्यानमारको विमान भारतीय सीमामा दुर्घटना

काठमाण्डु टुडे २०८० माघ ९ गते १४:२६ मा प्रकाशित

एजेन्सी– भारतीय सीमामा म्यानमारको एउटा विमान दुर्घटनामा परेको छ । विमान म्यानमार सेनाको भएको दाबी गरीएको छ । दुर्घटनाको बेलामा विमानमा १४ जना सवार रहेको अन्तराष्ट्रिय सञ्चार माध्यम अरुले बताएका छन । विद्रोहीहरूको हमलाबाट बच्नका लागि भागेर भारत आएका सेनाहरूलाई फर्काउन उक्त विमान आएको थियो । विमान मिजोरममा दुर्घटनामा परेको सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

अवतरणका क्रममा मिजोरम लेंगपुई विमानस्थलमा धावनमार्गबाट चिप्लिएर विमान भीरबाट खसेको थियो । यस घटनामा दुई जना गम्भीर घाइते भएको बताइएको छ । अन्य १२ जनालाई भने सामान्य चोटपटक लागेको छ । घाइतेहरूको लेंगपुई अस्पतालमा उपचार भइरहेको बताइएको छ । पछिल्लो म्यानमारमा विद्रोही र त्यहाँको सेनाबिच झडप जारी छ ।

सेनामाथि विद्रोही भारी हुन थालेपछि सयौँ सेना भागेर भारतीय सीमामा रहेको मिजोरमको ल्वांग्ताई जिल्लामा आएका थिए । दुई दिन अघि २७६ जना सेना ल्वांग्ताई जिल्लामा आइपुगेको समाचारमा उल्लेख गरीएको छ । सेनाको शिविरलाई विद्रोही समूह अराकन आर्मीको लडाकुहरूले कब्जा गरेका थिए । सोमबार १८४ जनालाई म्यानमार फिर्ता लगिएको थियो । बाँकी ९२ जनालाई मंगलबार लगिँदै थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us