
काठमाण्डू, ७ असार– कांग्रेस सभापति शेरबहादुर देउवाले विदेशी नागरिकता लिइसकेकाहरुलाई नेपाली नागरिकता दिन नसकिने बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित ‘सुगौली सन्धि र नेपालमा नागरिकता’ नामक पुस्तक विमोचन कार्यक्रममा उनले एकपटक विदेशी भइसकेका नेपालीलाई नागरिकता दिन नसकिने बताएका हुन् ।
‘अर्को देशको नागरिकता लिइसकेपछि फेरि नेपालको नागरिकता दिन सकिँदैन’, उनले भने ।
देउवाले अरु कामहरुका लागि एनआरएनलाई दिए सरहको नागरिकता दिन सकिने बताए । नेपाल जस्तो देशमा जथाभावी नागरिकता दिँदा पछि समस्या आउने उनको भनाइ थियो ।
यद्यपि ब्रिटिस गोरखा सैनिकलाई बेलायती सैनिक सरह सेवा सुविधा र नागरिकता दिनुपर्छ भन्नेमा आफू स्पष्ट रहेको बताए ।
‘ब्रिटिस गोरखा सैनिकहरुले नेपालको नागरिकताको निरन्तरता पाउनुपर्ने माग राख्नुभएको छ । यस विषयमा राजनीतिक दलहरुले छलफल गरिरहेका छन् । छिटै निस्कर्ष निस्किनेछ । यसमा के छ भने एनआरएन भन्ने पनि छ । नेपाल छोड्नुपर्ने विभिन्न बाध्यता छन् । त्यसैले ब्रिटिस गोरखा सरह नै नागरिकता पाउनुपर्छ भन्ने छ’, देउवाले भने ।