
एजेन्सी– माल्दिभ्स सरकारले भारतीय सैनिकहरूलाई देश छोड्न मार्च १५ सम्मको अल्टिमेटम दिएको छ । मोहम्मद मुइज्जु सरकारले भारतीय सैनिकहरूलाई मार्च १५ सम्ममा माल्दिभ्स छाड्न अल्टिमेटम दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उद्धार तथा मानवीय सहायताका लागि भन्दै ८८ जना भारतीय सैनिक माल्दिभ्समा कार्यरत रहेका छन् । ती सेनाले मार्च १५ सम्ममा फिर्ता हुन माल्दिभ्स सरकारले भारतीय सरकारलाई भनेको समाचार माल्दिभ्सका सञ्चार माध्यमले जानकारी दिएको छ ।
दुवै देशको उच्चस्तरीय कोर ग्रुपको बैठकमा ती सेना फिर्ता गर्ने प्रक्रिया सुरु गर्न दुवै देश सहमत भएको माल्दिभ्सको विदेश मन्त्रालयले जानकारी दिएको छ ।
तर भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भने भारतीय सेना फिर्ता गर्ने समयसीमाबारे केही उल्लेख छैन । भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मालेमा उच्चस्तरीय कोर समूहको बैठक बसेको र बैठकमा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको उल्लेख गरीएको छ ।