अराजक र अस्थिर राजनीतिलाई एमालेले सही बाटोमा ल्याउँछः ओली

काठमाण्डु टुडे २०८० मंसिर १४ गते १०:४१ मा प्रकाशित

बैतडी, १४ मंसिर– एमाले अध्यक्ष केपी ओलीले आफ्नो मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानले अराजक र अस्थिर राजनीतिकलाई सही बाटोमा फर्काउने दाबी गरेका छन् ।

बैतडीको झुलाघाटमा बिहीबार अभियानको औपचारिक थालनी गर्दै ओलीले आफूहरुको यात्राले चिन्तन, मननदेखि व्यवहारिक नीति र योजना निर्माण गर्नका लागि मद्दत पुर्‍याउने र अराजक रानजीति तथा ओरालो लागेको अर्थतन्त्रलाई सही बाटोमा ल्याउने विश्वास व्यक्त गरे ।

सरकारी अकर्मण्यताका कारण अहिलेको अवस्था आएको टिप्पणी उनको थियो । ओलीले अभियानप्रति नागरिकस्तरमा देखिएको उत्साहले खुसी तुल्याएको बताए ।

ओलीले आफूहरुको कार्यक्रमलाई संवाद, अध्ययन, संकल्प र मुलुकलाई समृद्ध बनाउने यात्राको संज्ञा दिँदै हिमाली भेगभन्दा तल र तराईभन्दा, माथिको मध्यपहाडी क्षेत्रको विकास तथा सो क्षेत्रमा बसोबास गर्ने नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारी, सीप विकास तथा बजारीकरण कसरी हुन्छ भन्ने बाटो खोजी गर्न आफूहरुको आएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us