
धरान, २८ वैशाख– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा ल्याउन भन्दै आन्दोलन नगर्न राजावादी दल र समूहलाई चेतावनी दिएका छन् ।
पार्टी सम्बद्ध किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई संयुक्त रुपमा आइतबार धरानमा उदघाटन गर्दै उनले ‘राजावादी आन्दोलनलाई ‘पुरानो बेुलनमा हावा भर्ने प्रसाय’ को संज्ञा दिए ।
पूर्वपञ्च नवराज सुवेदी नेतृत्वको संघर्ष समतिले आगामी १५ जेठदेखि राजतन्त्र पुनस्र्थापनाका लागि भन्दै आन्दोलन घोषणा गरेको छ । प्रचण्डले राजतन्त्रको एउटा बेलुन फुटिसेकको र फेरि अर्को बुलेन फुलाउने प्रयास भए जनताले प्रतिकार गर्ने बताए । ‘हामीले पहिले नै एउटा बेलुन फुटाइसकेका छौं’, उनले भने, ‘फेरि अर्को बेलुन फुलाउने प्रयास नहोस्, खबरदार ।’
प्रचण्डले राजावादीहरुले गत १५ चैतमा तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनलाई वितण्डा र गुण्डागर्दीको संज्ञा दिए । उनले तीनकुने घटनाले राजावादीहरुको पुरानै शैली र चरित्रमा कुनै परितर्वन नआएको बारे जनताले बुझेको उल्लेख गरे ।
नेपालका उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदाय जागिसकेकाले कुनै पनि शक्तिले उनीहरुलाई रोक्न नसक्ने चेतावनी दिए ।
प्रचण्डले मुलुकलाई पछि फर्काउने गरी सुरु भएको पाखण्ड र प्रतिगमनको राजनीति उमार्ने दुस्साहसपूर्ण प्रयास जनताले विफल पार्ने बताए ।