
काठमाण्डू, २८ वैशाख–प्रधानमन्त्री केपी ओली राजसंस्था पुनर्स्थापनाको माग गर्दै आएका राजावादी दल र समूहहरुप्रति कडा रुपमा प्रस्तुत भएका छन् ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन आइतबार प्रतिनिधिसभाको रोष्ट्रममा उभिएका ओलीले वंशपरम्परा आधारित राज्य व्यवस्था फर्कने सपना नदेख्न आग्रह गरे ।
जेठ १५ गते पूर्वराजा ज्ञानेन्द्र शाहलाई श्रीपेच लगाएर गद्धीमा राख्ने मिति नै घोषणा गरिएको भन्दै उनले राजावादीहरुका लागि जेठ १५ कहिल्र्य नआउने बताए ।
‘अधिनायकवादी शासनमा संविधान र कानुनको दुहाइ दिनेहरू अहिले लोकतन्त्रको उपयोग गरेर देशलाई प्रतिगमनतर्फ लैजान खोज्दैछन्, उनले भने, ‘यो जेठ १५ होइन, अब आउने कुनै पनि जेठ १५ गते तपाईंहरूको सपना पुरा हुनेछैन ।”
राजावादीहरूलाई लोकतान्त्रिक विधि र संविधानको सीमाभित्र बसेर बोल्न पनि आग्रह गरे । राजावादीहरुले नेपाललाई बंगलादेश र श्रीलंका बनाउने धम्की दिएको विषयमा पनि उनले जवाफ दिए ।
ती देशमा भएका आन्दोलनले लोकतन्त्रभित्रैबाट विकल्प खोजेको बुझ्न ओलीले सुझाए । ‘बंगलादेशमा पनि राजा फर्केका छैनन्, श्रीलंकामा पनि फर्केका छैनन्’, उनले भने ।
राजावादीहरुद्वारा गठित पूर्वपञ्च नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति ले राजतन्त्र फर्काउन भन्दै जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलन घोषणा गरेको छ ।