भूकम्प पीडितको त्रिपालको टहरामा आगलागी, धनमाल जलेर नष्ट

काठमाण्डु टुडे २०८० मंसिर १३ गते १८:२५ मा प्रकाशित

काठमाण्डु, १३ मंसिर– जाजरकोट जिल्लाको नलगाड नगरपालिका–६, को भारगाउँमा भूकम्प प्रभावित बस्दै आएको त्रिपालका टहरामा आगलागी भएको छ । मंगलबार साँझ स्थानीय पूर्णबहादुर विक र बलबहादुर विकको त्रिपालको टहरामा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

मंगलबार साँझ खाना पकाउने क्रममा एक्कासी आगलागी भएको इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी सहायक निरीक्षक रगुविर केसीले जानकारी दिएका छन । भूकम्पबाट प्रभावित उनीहरु नाताले दाइ भाइ पर्छन् ।

दुवैको घर गत कार्तिक १७ गते मध्यरातीको भूकम्पले भत्काएको थियो । त्यसपछि उनीहरु त्रिपालमा बस्दै आएका थिए । ‘चिसो बढ्नथालेपछि चिसो छेक्न त्रिपालमाथि खर फालेका थिए,’ केसीले भने, ‘ पूर्णबहादुरको त्रिपालभित्र खाना पकाउने क्रममा एक्कासी आगो लाग्यो र खर भएका कारण बलबहादुरको त्रिपालसम्म पुग्यो ।’

क्षतिबारे दल्लीबाट प्रहरी गएर मुचुल्का उठाइसकेको उनले जानकारी दिएका छन । आगलागीबाट एक क्वीन्टल आलुको बीउ, १०० केजी फापर, दाल, सिमी, भटमास गरी १० केजी, नुनदेखि लत्ताकपडा, विस्तार सबै जलेको उनले बताए । पूर्णबहादुरको ८० हजार बराबरको धनमाल नष्ट भएको छ भने बलबहादुरको १ लाख २० हजारको धनमाल नष्ट भएको उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us