चुरोट नदिएको निहुँमा कुटपिट गरी युवकको हत्या, १४ जना परे पक्राउ

काठमाण्डु टुडे २०८० मंसिर १३ गते १६:२३ मा प्रकाशित

काठमाण्डु, १३ मंसिर– कैलालीमा चुरोट नदिएको  निहुँमा  कुटपिटबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोडाघोडी नगरपालिका–२ का २६ वर्षीय मोहन अधिकारी रहेका छन ।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १४ जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–९ घोराघाटका २३ वर्षीय विवेक भुल,२२ वर्षीय विशाल भुल, २२ वर्षीय सन्तोष परियार, २४ वर्षीय गणेश भुल, १५ वर्षीय पिन्टु चौधरी, २२ वर्षीय दिल बहादुर चौधरी, २२ वर्षीय पुरन सार्की, २८ वर्षीय विर्ख भुल, २४ वर्षीय सोनु साउद, २३ वर्षीय चक्र कुँवर, २० वर्षीय अकेश कुँवर, २३ वर्षीय निवन केसी, २५ वर्षीय रामलाल चौधरी र २४ वर्षीय विशाल कुमालल रहेका छन । मंगलबार मध्यराति साढे १२ बजेतिर घोडाघोडी नगरपालिका–२ का २६ वर्षीय मोहन अधिकारीमाथि एक समूहले कुटपिट गरेको थियो।

अधिकारी मंगलबार लम्कीचुहा नगरपालिका–९ स्थित डिल्ली कोइरालाको विवाहमा गएको कैलालीका प्रहरी प्रवक्ता इन्स्पेक्टर सन्तोष बस्यालले जानकारी दिएका छन । त्यहाँ एक व्यक्तिले उनीसँग चुरोट मागेका थिए। इन्स्पेक्टर बस्यालका अनुसार ती युवकलाई मोहनले चुरोट नदिएपछि विवाद सुरू भएको थियो। त्यही निहुँमा चुरोट माग्ने युवकको समूहले अधिकारीमाथि कुटपिट गरेका उनले जानकारी दिएका छन ।

कुटपिटबाट गम्भीर घाइते भएका मोहनको उपचारका क्रममा टीकापुर अस्पतालमा आज बिहान ७:३५ बजे मृत्यु भएको हो। त्यसअघि उनलाई लालरत्न अस्पतालमा लगिएकोमा त्यहाँ उपचार हुन नसकी कोहलपुर मेडिकल कलेज लगिएको थियो। कोहलपुरबाट टीकापुर अस्पताल पुर्‍याइएकोमा डाक्टरले मृत घोषणा गरेको हो। बुधबार दिउँसोसम्म कुटपिटमा संलग्न १४ जनालाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको इन्स्पेक्टर बस्यालले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us