लोकतन्त्रको अर्थ अराजकता होइन, सुव्यवस्था र जिम्मेवारीबोध हो: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०८० मंसिर १ गते १६:५१ मा प्रकाशित

दमौली, १ मङ्सिर–नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई असफल पार्ने अराजक प्रवृत्ति बढ्न खोजेको भन्दै त्यसलाई सफल हुन नदिने बताएका छन ।

आज (शुक्रबार) दिउँसो तनहुँको आँबुखैरेनी अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका ह्ुन । उनले हिजोका सामन्ती तत्वहरूले देशमा अराजकता निम्त्याउने र राजनीतिक प्रणाली असफल पार्ने सपना देखेकाले त्यस्ता षड्यन्त्र चिर्न लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिने बताएका छन ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘‘सामन्ती तथा निरंकुश शक्तिहरूलाई पुरानै सत्ता फर्काउन सकिन्छ कि भन्ने सपना देख्न थालेका छन्। उनीहरू सङ्घीयताका विरूद्ध, गणतन्त्रका विरूद्ध, समावेशी–समानुपातिक प्रणालीका विरूद्ध जनतामा अफवाह फैलाउन खोजिरहेका छन्। त्यो कुनै पनि हालतमा सफल हुँदैन। लोकतन्त्रको अर्थ अराजकता होइन, स्वतन्त्रता हो, सुव्यवस्था र जिम्मेवारीबोध हो ।’ गणतन्त्रअघि सुव्यवस्था, विकास र प्रगति थियो ? जुन शक्तिहरूले अहिले संस्कारको कुरा गरिरहेका छन्, तिनीहरूको संस्कार के हो भन्ने कुरा नेपाली जनताले राम्रोसँग बुझिसकेका छन्।

कोतपर्व, भण्डारखाल पर्व, नारायणहिटी हत्याकाण्ड कसले मच्चायो ? हजारौं नेपालीमाथि दमन कसले गर्‍यो ? जो सबैभन्दा बढी तानाशाह छन्, फासिष्ट छन्, विकासविरोधी छन्, उनीहरूले नै स्वतन्त्रताको कुरा गर्ने ? संस्कारको कुरा गर्ने ? यस्तो भ्रामक प्रचार र व्यवस्थाविरोधी षड्यन्त्र असफल पार्नुपर्छ। जनता न्यायाधीश हुन्, असफल पार्छन्, उनले भने । ’ प्रधानमन्त्री प्रचण्डले संविधानले परिकल्पना गरेका सबै अधिकार तल्लो सरकारसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन । उनले भने, ‘संविधानले परिकल्पना गरेको सबै अधिकार तल्लोतहसम्म पुर्‍याउँछौँ, अधिकार नपुग्दै सङ्घीयता असफल भयो भन्न हुन्न । ’

प्रधानमन्त्री प्रचण्डले संविधानलाई संस्थागत गर्ने प्रक्रिया चलिरहेको बताउँदै सङ्घीयता जनताको हितमा छ भन्ने प्रमाणित गरिने पनि बताएका छन । उनले भने, ‘सङ्घीयताको बारेमा अरुले भन्दा मैले बढी बुझेको छु भन्ने मेरो दाबी छ। सङ्घीयतालाई बलियो बनाउनेतर्फ म क्रियाशील छु ।’ उनले प्रदेश सरकार बलियो बनाउन प्रहरी समायोजन ऐन, निजामती ऐन र शिक्षा ऐन आवश्यक भएको पनि बताएका छन । उनले भने, ‘यी ऐन भए मात्रै प्रदेश सरकार बलियो हुन्छ, नत्र बलियो हुँदैन। प्रदेश सरकार भएको अनुभूति जनतालाई दिलाउन सकिएन भने प्रदेशको महत्वबारे बुझाउन सकिँदैन ।’

प्रधानमन्त्री प्रचण्डले तीनवटै ऐन कार्यान्वयनमा आउने उल्लेख गरेका छन । गएको तीन चारदिनदेखि प्रहरीसँग, गृह मन्त्रालयसँग छलफलमा रहेको बताउँदै उनले केही दिनभित्रै प्रहरी समायोजन ऐन कार्यान्वयनमा आउने दाबी गरेका छन । उनले सङ्घीय निजामती ऐन बनिसकेको बताउँदै उक्त ऐन पनि कार्यान्वयनमा आउने पनि बताएका छन । उनले सिंहदरबार जनताको घरदैलोमा आएको अनुभूति दिलाउने विश्वास दिलाउँदै स्वास्थ्य, शिक्षाका बारेमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us