

काठमाण्डु,२६ कातिक– बागलुङको व्यापारीक केन्द्र बुर्तिबाङ बजारदेखि माथितिर लागियो भने अधिकांश घरमा कुकुर भेटिन्छन् । ती कुकुर साना आँखा, लामा–लामा रौँ र मोटाघाटा देखिन्छन् ।
केही वर्ष पहिलेसम्म बागलुङमा आउने पर्यटकले यहाँ उत्पादन हुने भाँगो, आलु, भटमास, बुट्टेनली र चोयाबाट बनेका सामग्री कोसेलीका रुपमा लैजाने गर्थे भने अहिले भोटे कुकुर लैजान सुरु गरेका छन ।
खासगरी ढोरपाटनमा आउने पर्यटकले माउ र बच्चा कुकुर किनेर लैजाने गरेका त्याहाँका स्थानीयहरुले बताएका छन । आगन्तुकले घरमा पालेको कुकुर किनेर लैजान थालेपछि स्थानीयवासीको आम्दानी पनि बढ्न थालेको स्थानीयहरु बताउँछन् ।
निसीखोला, ढोरपाटन र तमानखोलाको माथिल्लो क्षेत्रबाट हरेक वर्ष सयौँ माउ तथा बच्चा कुकुरहरु व्यापक रुपमा बिक्री हुने गरेको छ । विशेषगरी त्याहाँबाट बुटवल, पोखरा, काठमाडौँ, बागलुङ, धरानलगायत मुख्य सहरमा कुकुर लैजाने गरेको पाइन्छ ।
ढोरपाटन क्षेत्रमा पाइने कुकुर अन्य ठाउँको भन्दा बलियो र टाठो हुने हुँदा धेरैले मन पराउने गरेको ढोरपाटन नगरपालिका–९ पाखाथरका ज्ञानबहादुर विकले जानकारी दिएका छन ।
कुकुरले एकै पटकमा पाँच वटाभन्दा बढी बच्चा जन्माउने र दुई÷तीन महिना नहुँदै किनेर लैजाने गरेको उनले बताएका छन । ढोरपाटन क्षेत्रबाट हरेक महिना कुकुर बिक्री भइरहेको छ ।
पछिल्लो समय भोटे कुकुरको माग निकै बढेको उल्लेख गर्दै स्थानीयवासी विकले एउटै माउ भोटे कुकुरका लागि रु ५५ हजारदेखि रु ६० हजारसम्म पर्ने गरेको र तीनका बच्चा रु दस हजारसम्ममा बिक्री हुने गरेको जानकारी दिएका छन ।
बजारका कुकुरले भन्दा भोटे कुकुरले जङ्गलीजन्तुसँग प्रतिकार गर्नाका साथै घर गोठको सुरक्षा गर्ने भएकाले आफूले पनि यसवर्ष आफूले चार वटा बच्चा बेचेको उनले बताएका छन ।
निसी, ढोरपाटन र तमान क्षेत्रका धेरैजसो बासिन्दा पशुपालनमा आवद्ध छन् । उनीहरु लेकबेँसी गरेर पशुचौपाया पाल्ने गर्छन् । गोठ सार्दा कुकुर पनि सँगै लैजाने गरेका छन ।
गोठको छेउमै बाँधिएका कुकुरले पशुचौयापालाई वन्यतन्तुबाट बचाउने स्थानीयवासी वीरबहादुर रसाइलीले जानकारी दिएका छन ।
कुकुर ज्ञानी र घर गोठको रक्षक भएकाले आफूले पनि विगत पचासवर्षदेखि अहिलेसम्म करिब दस वटा कुकुर पालिसकेको उनले सुनाए । पछिल्लो समय घुम्न आउने पर्यटकले गोठमै आएर कुकुर किन्ने गरेको सिर्पालीको भनाइ थियो।