भूकम्प प्रभावित क्षेत्रबाट फर्किएपछि प्रधानमन्त्री प्रचण्डलाई रवि लामिछानेको १४ बुँदे सुझाव

काठमाण्डु टुडे २०८० कार्तिक २२ गते ११:४९ मा प्रकाशित

काठमाण्डु, २२ कातिक– पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गत शुक्रबार राति जाजरकोट रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबारे सरकारले गर्नुपर्ने काममा केन्द्रित रहेर सरकारलाई १४ बुँदे सुझाव दिएका छन् ।

आज (बुधबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेर लामिछानेले आफ्नो १४ सुझावसहितको निवेदन हस्तान्तरण गरेका हुन् ।

सभापति लामिछानले भूकम्प लगत्तै प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम पुगेका थिए ।

लामिछानेको निवेदनमा भनिएको छ, ‘पार्टीको कार्यक्रमका लागि पाल्पामा रहेको भएतापनि भूकम्पको खबर सुन्ने बित्तिकै पूर्व निर्धारित सबै कार्यक्रम स्थगित गरेर पाल्पाबाट हामी सिधै जाजरकोट गएका थियौँ ।

यस निवेदनमा मैले देखेको भूकम्प प्रभावित क्षेत्रको अवस्था र तत्काल गरिनुपर्ने कार्यको सूची तपाईँसमक्ष राखेको छु ।’ लामिछानेले सरकारले प्रभावित क्षेत्रमा चाहिएका सामग्री तत्काल पुर्याउन र गुणस्तरीय त्रिपाल लैजान समेत प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन ।

यसैगरी भूकम्प प्रभावित जनता, भूकम्प पश्चातको २ दिनमै आफ्नो जोहो गर्न आफैँ संघर्षरत रहेको पाएको भन्दै उनले यसका कारण जनता निराश भएको उल्लेख गरेका छन् ।

उनले सरकार जनताको अभिभावक भएको स्मरण गराउँदै आम जनसमुदायमा सरकार छ भन्ने प्रत्याभूति गराउन उपयुक्त, कदम चाल्न आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us