
काठमाण्डु, २० कातिक– कांग्रेस कोशी प्रदेश संसदीय दलले दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत गरेको छ । आज सोमबार बसेको उक्त संसदीय दलको बैठकले उनले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको एक नेताले जानकारी दिएका छन ।
दलको निर्णयपछि थापा पुरानै जिम्मेवारीमा फर्किएका छन् । संसदीय दलको बैठकमा मुख्यमन्त्री केदार कार्कीले पनि थापालाई राजीनामा फिर्ता लिएर जिम्मेवारीमा फर्कन आग्रह गरेका थिए । दलको बैठकपछि थापाले आफू जिम्मेवारीमा फर्किएको जानकारी दिएका छन् ।
उनले अब कोशी प्रदेको राजनीति ट्याकमा आएका कारण सबै आफ्नो जिम्मेवारीमा फर्कने बताएका छन् । बैठकले यसअघि राजीनामा दिएका उपनेता हिमाल कार्की र प्रमुख सचेतक भूपेन्द्र राईलाई पनि जिम्मेवारीमा फर्कन आग्रह गरेको थियो ।
उनीहरू पनि जिम्मेवारी फर्कने थापाले जानकारी दिएका छन । प्रदेश प्रमुखले संविधानको धारा १६८ को ५ अनुसार सरकार गठनको आह्वान गरेपछि सत्तारुढ गठबन्धनले प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई अघि सार्ने निर्णय गरेको थियो ।
तर कांग्रेसका ८ सांसदसहित विद्रोह गर्दै केदार कार्की २७ असोजमा एमालेको समर्थनमा मुख्यमन्त्री बने । पार्टीको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै थापाले नैतिकताका आधारमा २८ असोजमा दलको नेताबाट राजीनामा दिएका थिए । केन्द्रीय नेतृत्वको आग्रह र दलको बैठकको निर्णयपछि जिम्मेवारी फर्किएको उनले बताएका छन ।